२०८१ चैत्र ७ काठमाडौं । बेलायती बहुर्राष्ट्रिय वाणिज्य बैंक स्ट्यान्डर्ड चार्टर्डले नेपालको दिगो विकास परियोजनाको प्रवर्द्धनमा ४० मिलियन युरो (करिब ६ अर्ब ४ करोड ४७ लाख रुपैयाँ) लगानी गर्ने भएको छ । बैंकले जारी गरेको विज्ञप्तिअनुसार ८ वर्षे सामाजिक ऋणपत्रले मुख्यतया साना र मध्यम आकारका उद्यम (एसएमई) लाई ऋण प्रदान गर्ने, वित्तमा पहुँच सुनिश्चित गर्ने, रोजगारी सिर्जना गर्न मद्दत गर्ने र महिला स्वामित्वमा रहेका एसएमईलाई सशक्तीकरण र पालनपोषण गर्ने सुविधा प्रदान गर्नेछ ।

पहिलो सामाजिक ऋणपत्र जारी गरेको स्ट्यान्डर्ड चार्टर्डले नेपालसहित दक्षिण एशियाका भारत, बंगलादेश र अन्य उदयीमान अर्थतन्त्रको विकासमा लगानी गर्ने घोषणा गरेको छ । यसले हालैमात्र १ अर्ब युरो (करिब १ खर्ब ५१ अर्ब ११ करोड ८० लाख रुपैयाँ) सामाजिक ऋणपत्रमार्फत जुटाएको छ ।

यो पुँजीमध्ये ठूलो हिस्सा भारतमा लगानी गर्नेछ । बैंकका अनुसार भारतको अर्थतन्त्र प्रवर्द्धनका लागि ऋणपत्रमार्फत संकलित रकममध्ये ५७प्रतिशत लगानी गरिनेछ । यसबाहेक बंगलादेश (६ प्रतिशत), मलेसिया (१० प्रतिशत) र मेनल्यान्ड चीन (५ प्रतिशत) लगानी गर्ने योजना छ ।

स्वास्थ्य र शिक्षालगायत आवश्यक सेवामा पहुँचलाई पनि वित्तपोषण गर्नेछ र बैंकको दिगो ऋण संरचनामा तोकिएका सामाजिक गतिविधिअनुरुप किफायती आधारभूत पूर्वाधार र खाद्य सुरक्षामा लगानीलाई सहज बनाउनेछ ।