२०८१ फागुन १४ काठमाडौं । महाशिवरात्रीको अवसरमा काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नं ७ मा रहेको पाताल भुवनेश्वर मन्दिरमा विशेष धार्मिक अनुष्ठान आयोजना गरिएको छ । स्वयम् उत्पत्ति भएको तथा विभिन्न ऐतिहासिक तथ्य प्रमाणहरू सुरक्षित रहेको पाताल भुवनेश्वर मन्दिरको प्रचार प्रसार हुन नसकेकोले शिवरात्रिको अवसर पारेर विशेष धार्मिक अनुष्ठान गर्न लागिएको हो ।
पाताल भुवनेश्वर मन्दिर पृथ्वीनारायण शाहको देशव्यापी एकीकरण अभियानसँग पनि जोडिएको बताइन्छ । स्थानीय हरिदेव पण्डित उप्रतीले भोट (तीब्बत) मा प्रदर्शन गरेको कूटनीतिक कौशलवाट प्रभावित भएर पृथ्वीनारायण शाहले उनलाई यस क्षेत्र नै विर्ता दिएका बताइन्छ । सोही विर्ता पाएको ठाउँमा वि.सं. १९३१ फागुन १४ मा मन्दिर स्थापना गरिएको मन्दिर परिसरमा रहेको शिलालेखमा उल्लेख छ ।
काठमाडौं उपत्यकाबाट करिब ६१ किलोमिटरको दुरीमा रहेको तथा आध्यात्मिक र धार्मिक हिसाबले महत्त्वपूर्ण रहँदारहँदै पनि भक्तजनहरु उल्लेख्य रूपमा पुग्न नसकेको कारण मन्दिर संरक्षण समितिले स्थानीय स्तरमा विभिन्न धार्मिक अनुष्ठान गर्ने र प्रचार प्रसारलाई तीव्रता दिने लक्ष्य लिएको छ ।