२०८१ माघ २० काठमाडौ । राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले बाख्रा चराउन गएका किशोरीको रहस्यमय मृत्युको घटनाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका छ्न । अछामको ढकारीमा भएको दुई किशोरीको रहस्यमय मृत्यु घटनाको गम्भीर अनुसन्धान गर्न सांसदहरूले सरकार सग जोडदार ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले घटनाको धेरै दिन बितिसक्दा पनि घटनाको रहस्य खुल्न नसकेको भन्दै सरकार सग आक्रोश व्यक्त गरेका छन । अछामको ढकारी गाउँपालिका ८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का १२ माघको बेलुकी मृत फेला परेका थिए । शुक्रबार दिउँसो बाख्रा चराउन जंगल गएका दुवै किशोरी हराएका थिए । दुवै जना वडा नम्बर १ को जंगल क्षेत्रमा शनिबार बेलुका मृत फेला परेपछि प्रहरीले अनुसन्धानको क्रममा दुईजनालाई नियन्त्रणमा समेत गरेको थियो ।

जंगलबाट नफर्किएपछि परिवारले शनिबार साँझ ६ः४० बजे प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले अनुसन्धानको क्रममा किशोरीसँगै गोठालो गएका दुईजनालाई नियन्त्रणमा लिइएको थियो । तर घटना घटेकोको ९ दिन बितिसक्दासमेत प्रहरीले दोषी पत्ता लगाउन नसकेको भन्दै सांसदहरूले राष्ट्रिय सभामार्फत सरकार सग आक्रोश व्यक्त गर्दै ध्यानाकर्षण गराएका हुन् । (क्रान्ति)