अमेरिकाले चीनलाई आपसी चासोका विषयमा सोझै सम्वाद गर्न सुझाएको छ । चीन भ्रमणमा रहनुभएका अमेरिकी अर्थमन्त्री जेनेट येलेनले शनिबार चिनियाँ उपप्रधानमन्त्री हे लाइफङसँगको भेटमा त्यस्तो प्रस्ताव गर्नुभएको हो ।

“वासिङ्टन र बेइजिङले एकअर्काको विशेष आर्थिक अभ्यासबारे चासो भए सोझै सम्वाद गर्नुपर्छ । हालैको तनावका बाबजुद हामीले सन् २०२२ मा द्विपक्षीय व्यापारमा कीर्तिमान कायम गरेको तथ्यले पारस्परिक व्यापार र लगानीमा संलग्न हुने पर्याप्त स्थान रहेको स्पष्ट हुन्छ,” अमेरिकी अर्थमन्त्रीले विश्वका दुई ठूला अर्थतन्त्रबीचको सहकार्यमा जोड दिँदै चिनियाँ उपप्रधानमन्त्रीलाई भन्नुभएको छ ।

चीनको चारदिने भ्रमणमा रहनुभएकी अमेरिकी अर्थमन्त्रीले दुई देशबीचका तनावलाई मत्थर गर्ने वासिङ्टनको चाहना व्यक्त गर्दै आपसी साझेदरी बढाउने प्रयास गर्नुभएको छ ।

चिनियाँ उपप्रधानमन्त्रीले गत नोभेम्बरमा राष्ट्रपति जो बाइडेन र सी चिनपिङबीच भएको भेटवार्तापछि चीन–अमेरिका सम्बन्ध सुधार गर्ने प्रयासलाई वासिङ्टनले बेवास्ता गरेको र दुई राष्ट्रप्रमुखबीच भएको सहमति कार्यान्वयनमा केही समस्या खडा भएकामा खेद प्रकट गर्नुभएको थियो । सामान्य विषयलाई दुई मुलुकबीचको सम्बन्धमा समस्या हुन नहुनेतर्फ चिनियाँ उपप्रधानमन्त्रीले अमेरिकाको ध्यान आकर्षित गर्नुभएको थियो । रासस