यहाँका १३ सामुदायिक वनको स्थलगत अनुगमन गरिएको छ । जिल्लाका सामुदायिक वनमा हुने गरेको चोरी तस्करीलाई दृष्टिगत गर्दै स्थलगत अनुगमन गरिएको डिभिजन वन कार्यालयका प्रमुख एवं डिभिजन वन अधिकृत मन्जुर अहमदले जानकारी दिनुभयो ।

उहाँका अनुसार ८४ सामुदायिक वन रहेको जिल्लामा १३ दुर्गम स्थानका सामुदायिक वनका साथै सामुदायिक वन उपभोक्ता समूहको वस्तुगत अवस्थालगायत विषयमा स्थलगत अनुगमन गरिएको हो । जिल्लाको दुर्गम मानिने लालबन्दी नगरपालिका–१५ र १६ का साथै ईश्वरपुर नगरपालिका–१२ तथा बागमती नगरपालिका–१ का विभिन्न सामुदायिक वन उपभोक्ता समूहका काठको घाटगद्दी, काठको अवस्था, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा पदाधिकारीसँग छलफल, सामुदायिक वन उपभोक्ता समूहको वस्तुगत अवस्था, उपभोक्तालाई काठ वितरणको अवस्था, सामुदायिक वन उपभोक्ता समूहले प्यान लिए÷नलिएकोलगायत विषयमा अनुगमन गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी राकेशरञ्जन दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समूहमा प्रायःले वार्षिक साधारण सभा नगर्ने, कार्ययोजना नबनाउने, लेखापरीक्षण नगर्ने र उपभोक्तासँग मिलेर वनजन्य पदार्थको चोरी तस्करी गर्ने गरेको स्थानीयबाट गुनासो आएपछि डिभिजन वन कार्यालयले सामुदायिक वनहरुको स्थलगत अनुगमन गरेको हो ।

जिल्लामा ८४ सामुदायिक वन, तीन साझेदारी वन, तीन धार्मिक वन र १९ कबुलियती वन छन् । जिल्लामा रहेका ८४ सामुदायिकमध्ये १५ सामुदायिक वनको नवीकरण, वार्षिक कार्ययोजना, लेखा परीक्षण र साधारणसभा तथा प्यान लिने काम सकिएको डिभिजन वन अधिकृत मन्जुरले बताउनुभयो ।

त्यस्तै जिल्लाका विभिन्न सामुदायिक वनका साथै साझेदारी वनबाट विभिन्न समयमा निस्केका काठ धमाधम स्थानीय उपभोक्तालाई वितरण गरिएको छ भने स्थानीय उपभोक्तालाई वितरण गरेर बाँकी रहेको काठ लिलाम बिक्री पनि भइरहेको सूचना अधिकारी दासले बताउनुभयो ।

डिभिजन वन कार्यालय मातहत छ सबडिभिजन वन कार्यालय छन् भने विगत करिब तीन वर्षदेखि काठ वितरण गरिएको थिएन । त्यसका कारण ‘हाइटेसन लाइन’का साथै जङ्गलमा ढलेका काठ निकाल्न नपाउँदा कुहिन थालेका थिए ।रासस