आफ्नै आँखा अगाडि घर जलेर नष्ट हुँदा ७६ वर्षीय दलबहादुर साठीघरेलाई आगोले पोलेको घाउको दुखाइभन्दा घर जलेको देख्दा मन भतभती पोलेको छ । उहाँलाई शरीरका भागमा आगोले पोलेर पीडा सही नसक्नु छ, तर पनि पीडा लुकाउँदै आफ्नै आँखाले हेर्दाहेर्दै आगो दन्केर घर खरानी हुँदा कताकता सपना होकी विपना जस्तै अनुभूति हुने गरेको छ ।
आगोले पोलेको पीडा त छँदैछ तर त्योभन्दा बढी घर डढेको पीडाले उहाँ तड्पिरहनुभएको छ । पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा उहाँको तीनतले जस्तापाताले छाएको घर पुरै जलेर नष्ट भएको छ । घरमा भएका सरसामान, लत्ताकपडा, गरगहना, पैसा केही झिक्न नपाउँदा उहाँलाई बाँकी जीवन कसरी व्यतित गर्ने चिन्ताले पिरोलेको छ ।
“कति दुःखले बनाएको घर क्षणभरमै हेर्दा हेर्दै खरानी भयो, आगो निभाउन जाँदा शरीरका विभिन्न भागमा पोलिएर घाउ बनेको छ, तर यो पोलिएको घाउले दुखेको सहेको छु”, उहाँले भन्नुभयो, “घर डढेको चोटले मन भतभती पोलिएको छ ।”
मङ्गलबार अपराह्न बस्तीदेखि तल रहेको मधुकोट जङ्गलमा लागेको आगो सल्केर दलबहादुरको घर अगाडिको गोठ (दाउरा राख्ने) मा सल्केको हो । गोठमा लागेको आगो निभाउन बाल्टीमा पानी लिएर जाँदा दलबहादुर घाइते हुनभयो । गोठ हुँदै घरमा आगो सल्केपछि उहाँकी बुहारी लक्ष्मी साठीघरे घरभित्र रहेकी दुई वर्षकी छोरी निकाल्न जाँदा उहाँ आफैँ आगोले घाइते हुनुभएको छ । रासस