गण्डकी प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बुधबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा आयोगका नवनियुक्त उपाध्यक्ष डा देवकोटालाई सपथ गराउनुभएको हो ।

सपथ लिएलगत्तै डा देवकोटाले आयोगको उपाध्यक्षको पदभार सम्हाल्नुभएको छ । सो अवसरमा उहाँले संविधानले दिएको सीमाभित्र रहेर प्रदेशलाई बलियो र समृद्धशाली बनाउन भूमिका खेल्ने बताउनुभयो ।

कृषि, पर्यटन पूर्वाधार, जलस्रोत, गुणस्तरीय शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा प्राथमिकीकरणका आधारमा काम गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । प्रदेश सरकारको नीति तथा योजना कार्यान्वयनमा सबै पक्षसँग मिलेर काम गर्ने उहाँले बताउनुभयो ।रासस