गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ । प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र)ले दुई र नेकपा (एकीकृत समाजवादी)ले एक मन्त्रालाय पाउने भएको हो ।
कांग्रेसको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मन्त्रालयगत बाँडफाँट भने अझै टुङ्गिन बाँकी छ । “कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा गठबन्धनमा गृहकार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “केही दिनमै मुख्यमन्त्रीज्यूले सरकारलाई पूर्णता दिनुहुन्छ ।”
मन्त्रालयको बाँडफाँट मिलेपछि दलहरुले मन्त्रीको नाम टुङ्ग्याउने प्रमुख सचेतक न्यौपानेले बताउनुभयो । “केन्द्रीय गठबन्धनसँग पनि जोडिएको विषय भएकाले नेकपा एसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा माथि नै सहमति बन्छ”, उहाँले भन्नुभयो ।
प्रदेशसभामा राजीव गुरुङ नेकपा (एस)का एक्लो सदस्य हुनुहुन्छ । मनाङ–१ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित हुनुभएका उहाँ पछि नेकपा एसमा प्रवेश गर्नुभएको थियो । प्रदेशसभामा सत्तारुढ दलतर्फ सबैभन्दा बढी कांग्रेसका २७ र माओवादी केन्द्रका सात (सभामुखबाहेक) प्रदेशसभा सदस्य छन् ।
माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले आफूहरुले तीन मन्त्रालयमा दाबी गर्दै आए पनि दुई मन्त्रालय पाउने सहमति बनेको बताउनुभयो । “कांग्रेस र माओवादी केन्द्रबीच सहमति भइसकेको छ, नेकपा एसको विषयमा मुख्यमन्त्रीज्यूले नै मिलाउनुहुन्छ”, उहाँले भन्नुभयो ।रासस