व्यास नगरपालिका–१० दुम्सीस्थित शिशुवा भतेरी कृषि सहकारीले बाँझो जमिनको उपयोग गर्दै सामूहिक खेतीमार्फत विपन्न समुदायको आयस्तर बढाएको छ । मादी नदी किनार नजिकै शिशुवा भतेरीमा रहेको बाँझो जग्गामा सामूहिक खेती गरी आयआर्जनको वातावरण बनाएर उनीहरुको आर्थिक जीवनस्तर बढाउन सघाएको छ । सहकारीले विसं २०७४ देखि भाडामा लिएको भतेरीको जग्गामा सामूहिक खेती सुरु गरेपछि विपन्न वर्गलाई खेतीका लागि अधियाँ गर्न जमिन खोज्नुपर्ने बाध्यता हटेको छ । सहकारीले भाडामा लिएको जग्गामा स्थानीयवासीले मौसमअनुसार धान, मकै, आलुलगायतका खेती गर्दै आएको सहकारीका सचिव श्रीकृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीले यहाँका अति सीमान्तकृत बोटे, अल्पसङ्ख्यक दरै, दलित तथा विपन्न वर्गको आयस्तर बढाउन सामूहिक खेती गरेका छन् । वडा कार्यालयले विपन्न वर्गको आयआर्जनसँग जोड्न र वृद्धि गराउने उद्देश्यले सार्वजनिक जग्गा १० वर्षको लागि निःशुल्करुपमा प्रयोग गर्न दिएपछि सामूहिक खेती थालिएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले बताउनुभयो । उक्त जग्गामा पाँच वर्षदेखि विपन्न वर्गले मौसमअनुसारको खेती गरिरहेका छन् । वडा कार्यालयले उनीहरुको आयआर्जनका लागि रु ७० हजारमा जमिन सम्माएर खेत बनाइदिएको छ । एक लाख लगानीमा सहकारीले पाँच वर्षदेखि विभिन्न प्रकारका खेती गर्दै आएको शर्माले बताउनुभयो ।रासस