केही समययता एकाएक पर्यटकको चहलपहल घटेपछि पोखरेली पर्यटन व्यवसायीलाई चिन्तित बनाएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा पर्यटन लक्षित पूर्वाधारको लगानीमा हौसिएका पर्यटन व्यवसायीलाई यतिखेर कम हुँदै गएको पर्यटकको आगमन र बढ्दो बैंकको ब्याजदर समस्या बनेको छ । पर्यटकीय राजधानीको उपमा पाएको पोखरा माघ १ गते भएको विमान दुर्घटना पछि सुनसान प्रायः छ । काठमाडौँपछि उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने पोखरामा कोरोना कहर पछि भने पर्यटकको आगमन बढ्ने आशा पलाएको थियो । अङ्ग्रेजी नयाँ वर्षका बेलामा आसपासमा स्वदेशी एवम् विदेशी पर्यटकले खचाखच भरिएको पोखरामा पर्यटनको आशा जगाए पनि एकाएक भएको विमान दुर्घटनाले यतिखेर सुनसान बनाएको हो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ व्यवसाय नै धान्न धौधौ परेको वास्तविकतालाई बुझ्दै सरकारले ब्याजदर घटाउन र किस्ताको समयावधि बढाउनका लागि पहल गरिदिनुपर्ने बताउनुहुन्छ । शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको स्वागतार्थ आयोजित कार्यक्रममा उहाँले आफूहरू बैंकको ऋण तिर्ने कुरामा पूर्णरुपमा प्रतिबद्ध भएको र नतिर्ने कुनै चाहना नभएको बताउनुभयो । व्यवसायलाई बचाउन किस्ता तिर्ने समय बढाइदिनुपर्ने र ब्याज घटाएर दिनुपर्ने मुख्य माग रहेको उहाँले बताउनुभयो । ‘सिजन’ होस् या ‘अफ सिजन’ पोखरा अधिकांश समय पर्यटकको चहलपहल हुने गन्तव्य हो । कोरोना कहरको महामारी बीच पनि यहाँको पर्यटनलाई आन्तरिक पर्यटकले केही न केही भरथेग गरेका थिए ।रासस