गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत भएको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकमान्तर गरी खर्च गर्न विधेयक संशाधनको प्रक्रिया अगाडि बढाएको हो । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत पुँजीगत खर्च वृद्धि गर्ने सरकारको लक्ष्य छ । विनियोजन ऐन संशोधन विधेयकमाथि आउँदो मङ्गलबार बस्ने प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ । शुक्रबारको बैठकको शून्य र विशेष समयमा प्रदेशसभा सदस्यले विकास निर्माण र जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा सदस्य लिलबहादुर थापाले प्रदेशको स्वायत्त अधिकारलाई स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले समृद्ध गण्डकीको लक्ष्य पूरा गर्न साझा योजना र सङ्कल्प चाहिने उल्लेख गर्नुभयो । अर्का सदस्य पद्मा जिसीले नवलपुरका किसानले मल, बीउ र सिँचाइ सुविधा नपाएकोबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पछिल्लो समय बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विशेष योजना ल्याउनुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य सुधीरकुमार पौडेलले स्याङ्जाका किसानले चिस्यान केन्द्रमा राखेको दुई सय ९३ टन सुन्तला कुहिएकाले उचित क्षतिपूर्ति दिइनुपर्ने माग राख्नुभयो । प्रदेशसभा सदस्य प्रकाश बरालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश सरकारले पहल लिनुपर्ने उल्लेख गर्नुभयो ।रासस