रुपन्देहीस्थित सहकारी संस्था सङ्कटमा पर्दै गएपछि सरकारले बचतकर्ताको रकम सुरक्षाको प्रक्रिया थाल्नुपर्नेमा सहकारी अगुवाले जोड दिएका छन् । बुटवलमा आज आयोजित सहकारी क्षेत्रमा देखिएका समस्या र समाधान विषयक कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टिकाराम पोखरेलले प्रदेशमा केही सहकारीमा समस्या देखिएकाले सरकारले कानुनी प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले सहकारीको मर्मभन्दा बाहिर बचतकर्ताको रकममा सञ्चालकले चलखेल गर्दा समस्या देखिएको बताउनुभयो । उपाध्यक्ष पोखरेलले केही संस्थाले आफूखुसी लगानी गर्दा समस्या आएकाले सहकारीमा देखिएको समस्यालाई तीन तहका सरकारको सक्रियताले मात्र समाधान गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यसबारे हामी छलफल गरिरहेका छौँ, छिट्टै देखिने गरी काम गर्छौँ ।” लुम्बिनी प्रदेशका सहकारी रजिष्ट्रार भीमप्रसाद तिवारीले सहकारीमा सुशासन नभएको पाइएकाले सुधार गर्न निर्देशन दिएको र नमाने कानुनी दायरमा ल्याइने बताउनुभयो । सहकारीले मूल्य मान्यता पालना नगरेको, गतल लेखा परीक्षण गरी चलाएको जस्ता कारणले पछिल्लो समय सहकारीमा समस्या देखिएको उहाँले बताउनुभयो ।रासस