शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले संसद्मा रोकिएको शिक्षा ऐन अगाडि बढाउने बताउनुभएको छ । गोदावरी नगरपालिका–११ बज्रबाराहीस्थित ज्योतिदय सहकारी माध्यमिक विद्यालयको रजत जयन्ती समारोहमा मन्त्री खनालले विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजाने गरी संसद्मा रोकिएको शिक्षा ऐन अगाडि बढाउने बताउनु भएको हो । “ संविधानको परिकल्पना अनुसार हामीले विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजाने गरी काम गर्नु आवश्यक छ”, मन्त्री खनालले भन्नुभयो । उहाँले अहिलेको शिक्षा पद्धतिले वर्ग विभाजन गरेको छ भन्दै यसलाई हामीले बेलैमा ध्यान दिएर सबैलाई समानरुपले शिक्षा हासिल गर्न पाउने वातावरण सृजना गर्नुपर्छ भन्नुभयो । सार्वजनिक, नीजि र शैक्षिक गुठीबाट सञ्चालित तीनैथरी विद्यालयलाई एउटै दृष्टिबाट हेर्ने परम्पराको अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो । सांसद उदय शम्शेर राणाले शिक्षा क्षेत्रको विकासमा व्यक्ति र पार्टीगतरुपमा सकरात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । सांसद राणाले भन्नुभयो, “निजी, सरकारी र शैक्षिक गुठीमार्फत सञ्चालित विद्यालयलाई एउटै आधारमा हेरिनु हुँदैन, सरकारी र शैक्षिक गुठीमार्फत सञ्चालन भएका विद्यालयलाई मिलाएर मापदण्ड कायम गर्नु जरुरी छ । सरकारी अनुदानको व्यवस्था हुनु आवश्यक छ ।”रासस