गत असोजमा अविरल वर्षासँगै आएको बाढीपहिरो प्रभावित परिवारले राहत पाउँदा खुसी भएका छन् । बाढीपहिरोमा परी घर तथा खेतबारी गुमाएका छायाँनाथ रारा नगरपालिका–८ का पीडित परिवारले आज राहत पाउँदा खुसी भएका हुन् । टेवा नेपाल काठमाडौँको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको समन्वयमा पीडित ३० परिवारलाई प्रतिघर ३० केजी चामल, दुई केजी दाल, एक पाकेट नून, डसना, फाइबर सिरक र तन्नालगायतका सामाग्री वितरण गरिएको महिला अधिकार केन्द्र मुगुका अध्यक्ष सुकमाया शाहीले जानकारी दिनुभयो । माघको जाडोमा खाद्यान्न र न्यानो ओढ्नेओछ्याउने कपडा पाएपछि विष्टवाडा गाउँका स्थानीय खुसी छन् । “गत असोज १८ देखि २३ सम्म परेको अविरल वर्षाका कारण गाउँमा कसैका घर भत्किए, कसैका चर्किए, खेतगरामा पाक्न लागेका अन्न सबै बगायो । त्यस बेलादेखि घर बाहिर नै बस्दै आएका छौँ”, स्थानीय लोकबहादुर विष्टले भन्नुभयो । उहाँका अनुसार छिमेकी तथा नगरपालिकाले गरेको सहयोगमा जीविकोपार्जन गर्दै आएका स्थानीयले आज न्यानो कपडा र खाद्यान्न राहत पाएका हुन् । स्थानीय रमिला रावलले ठुलो परिवारलाई जीविकोपार्जनमा समस्या भएको भन्दै सरकारले घर निर्माणमा सहयोग गर्नुपर्ने बताउनुभयो ।रासस