रत्नेचौरको फाँट तोरी फुलेर पहेँलै भएको छ । खेतका डिलमा लहरै राखिएका छन् मौरीका घार । म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौरको फाँट यतिबेला मौरीको चरन र मानिसको भीडले ‘भाइरल’ बनेको छ । यही भाइरल तोरी फाँटमा बेनी–४ सुर्केमेलाका दिलबहादुर खत्री मौरी चराउन व्यस्त हुनुहुन्छ । उहाँ रत्नेचौर र छिमेकी जिल्ला बागलुङको कुँडुलेमा रहेको तोरीबारीको छेउमा दिनभर मौरी चराउनुहुन्छ । एक दशकदेखि व्यावसायिक रुपमा मौरीपालन गर्नुभएका ४२ वर्षीय खत्री ७० घार मौरी लिएर घुम्ती चरनका लागि रत्नेचौरको तोरीबारीमा आउनुभएको छ । पहेँलै फुलेको तोरीबारी आसपासका क्षेत्रमा मौरीको ताँती नै देखिन्छ । “मौसमअनुसार आहारा पाइने ठाउँमा मौरीलाई सार्नुपर्छ, मौरीको स्रोत जोगाउन पनि रुचाइएको आहारा र शान्त वातावरण चाहिन्छ”, उहाँले भन्नुभयो । जङ्गल आसपासका क्षेत्रलाई चरन क्षेत्रका रुपमा प्रयोग गर्दा मह दोब्बर उत्पादन हुनाका साथै स्वादिलोसमेत हुने भएकाले समय अनुकूल चरन क्षेत्रको खोजी गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँ २१ वर्षको उमेरमा दुबई पुगेर दुई वर्ष बिताएर फर्किएपछि पुनः मलेसिया जानुभयो । मलेसियामा तीन वर्ष बसेर फर्केर खत्री बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर मौरीपालन गर्नुभएका खत्रीले वार्षिक रुपमा मौरी तथा मौरीसहितका घार बिक्री गरेर वार्षिक रु २० लाखको कारोबार गर्ने गरेको बताउनुभयो ।रासस