चाँगुनारायण नगरव्यापी प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयले उचालेको छ । चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रतियोगतामा नौ स्वर्ण, सात रजत र तीन कास्य गरी कुल १९ पदक प्राप्त गर्दै प्रथम हुन सफल श्रीकृष्ण माविले राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो । प्रतियोगितामा सात स्वर्ण, चार रजत र छ कास्य पदकसहित कुल १७ वटा पदक प्राप्त गर्दै पारिजात विद्याकुञ्ज दोस्रो र सात स्वर्ण, चार रजत र पाँच कास्य पदकसहित १६ पदक प्राप्त गर्दै चाँगुनारायण माध्यमिक विद्यालय तृृतीय भएको थियो । प्रतियोगितामा महेन्द्रगाम माविले चार स्वर्ण, चार रजत र तीन कास्य पदकसहित चौथो र प्रज्ञा इङ्लिस स्कुलले पाँचौँ भएको थियो । तेक्वान्दो, उसु, एथलेटिक्स, कराते, भलिबल र कबड्डी खेल समावेश भएको प्रतियोगितामा नगरपालिकाभित्रबाट ३१ विद्यालयका दुई सय ८९ छात्र र एक सय ८९ छात्राको सहभागिता रहेकामा २२ वटा विद्यालयले पदक हात पारेका थिए । नगरपालिकाले बिहीबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले विद्यार्थीलाई रनिङ शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गर्नुभयो । उहाँले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न नगरपालिकाले विद्यालयलाई खेलकुदमैत्री बनाउने र खेलको विकास गर्दै नगरपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न नगरपालिका लागिपरेको बताउनुभयो ।रासस