वीरगञ्ज महानगरपालिका–१६ इनरुवाका ५५ वर्षीय तारा महरा चमार पक्की घर पाएपछि खुसी हुनुहुन्छ । वर्षौँदेखि फुसको छाप्रोमा छ जना परिवारका सदस्यसहित बस्दै आएका चमार अब भने पक्की घरमा ढुक्कसँग बस्न पाएपछि सुखी हुनुभएको हो । “मान्छेलाई बाँच्नका लागि खानासँगै घर पनि चाहिन्छ, तर घर नहुँदा फुसको छाप्रोमा जेनतेन परिवारसँगै बस्दै आएको थिए”, चमारले भन्नुभयो, “तर जनता आवासअन्तर्गत पक्की घर सरकारले बनाइदिएपछि अब घरको समस्याबाट मुक्त भइयो, अब त केबल कमाएर परिवारमात्र पाल्नु छ ।” आर्थिक विपन्नता र गरिबीको मार खेप्दै आएका आफू यो जुनिमा पक्की घर सुत्न पाउँछु भने कल्पना नै गरेको थिइन तर पक्की घरको मालिक नै बन्न पाइएकामा सरकारलाई साधुवाद छ, उहाँको भनाइ थियो । उमेरले ६५ पूरा गरिसक्नु भएकी रौतहटको गौर नगरपालिका–८ निवासी धनेश्वरी देवीलाई पनि पक्की घरको मालिक बन्छु भने विश्वासै थिएन । तर जनता आवास कार्यक्रमअन्तर्गत उहाँले पक्की घर पाएपछि हर्षित बन्नुभएको छ । “हामी वर्षाँैदेखि फुसको छाप्रोमा दिन बिताउँदै आएका थियौँ”, धनेश्वरी देवीले भन्नुभयो, “सरकारले हाम्रो समस्यालाई बुझेर पक्की घर बनाइदिएकामा हामी खुसी छौँ ।” यसबाट वर्षौँदेखि भोग्दै आएको घरवारविहीनताको समस्या समाधान हुने उहाँको विश्वास छ । पर्सा र रौतहटका तारा र धनेश्वरीमात्र होइन, पर्सा, रौतहट र बाराका चार सय ५६ दलित, विपन्न परिवारले जनता आवास कार्यक्रमअन्तर्गत पक्की भवन पाइसक्नुभएको छ भने दुई हजारभन्दा बढी परिवार पक्की घरको मालिक बन्ने तयारी छन् । फुसको छाप्रोमा कष्टकर जीवनयापन गर्दै आएका दलित विपन्न परिवारले पक्की आवास भवन पाएपछि हर्षित बनेका हुन् ।रासस