पटक–पटक म्याद थप्दासमेत सम्पन्न नहुने बागलुङका थुप्रै ठूला आयोजना छन्, तीमध्येको एक हो –बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजना । बागलुङ जिल्लाकै ठूलो लिफ्ट आयोजनाका रूपमा रहेको बागलुङ नगर बृहत् लिफ्टको काम तीनपटक म्याद थप्दासमेत अझै सकिएको छैन । यसअघि निर्माण व्यवसायीले पुस मसान्तसम्म खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि अझै सम्पन्न हुन नसकेको हो । अशुद्ध र अपर्याप्त खानेपानीको समस्या भोग्दै आएको बागलुङ बजारवासी विसं २०७५ देखि उक्त लिफ्ट आयोजनाको आशमा छन् । दुई वर्षमा लिफ्ट खानेपानी आयोजना सक्ने गरी २०७५ असार ३१ गते कन्काई जयमाता जेभीले निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण २०७७ असारमा सक्नुपर्ने योजना तीनपटक म्याद थप्दासमेत हालसम्म सम्पन्न नभएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले जानकारी दिनुभयो । “विसं २०७७ असारमा सक्ने गरी सम्झौता भएको निर्माण व्यवसायीले हालसम्म तीनपटक म्याद थपेको छ, अहिले कोरोनाको कारण माघ मसान्तसम्म म्याद छ, मसान्त आउन लागिसक्यो, काम अन्तिम चरणमा भए पनि निर्माणमा धेरै ढिलाइ भएको छ”, शर्माले भन्नुभयो, “अहिले बिल भुक्तानी नभएको निर्माण व्यवसायीको गुनासो छ, आयोजनाका लागि आवश्यक विद्युतीकरणको काम भइरहेको छ, आयोजना सक्न धेरै समय नलाग्ला तर दुई वर्षअघि बागलुङ बजारवासीलाई खुवाइनुपर्ने पानी अझै खुवाउन नसक्दा नगर खानेपानी दुःखी छ ।रासस