(बर्दघाट सुस्तापूर्व)मा च्याउखेती गर्ने कृषक मेहनत गरे आफ्नै ठाउँमा नै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । गैँडाकोट नगरपालिका–५ मा रहेको छत्राक एग्रो फार्मका सञ्चालक ६१ वर्षीय कर्णलाल श्रेष्ठ विगत दुई वर्षदेखि च्याउखेतीमा नै रमाइरहनुभएको छ । “केही गर्छु भन्ने इच्छाशक्ति भयो भने न त पैसाले रोक्दो रहेनछ, न त उमेरले नै छेक्दो रहेछ, मात्र काम गर्ने जोश, जाँगर चाहिँदो रहेछ”, श्रेष्ठले भन्नुभयो । छ कट्ठा क्षेत्रफलमा तीन टहरा बनाएर रु ६५ लाख लगानीका साथ सुरु गरेको च्याउ खेतीले उहाँलाई मनग्य आम्दानी दिएको छ । श्रेष्ठले अहिले महिनामा कम्तीमा रु एक लाख आम्दानी गर्दै आएको बताउनुभयो । “छ कट्ठा जमिनको वर्षमा रु एक लाख भाडा तिर्ने गरेको छु, तर पनि आम्दानी राम्रो छ”, उहाँले भन्नुभयो, “वर्षमा कम्तीमा पनि २० हजार किलो च्याउ बिक्री गर्दै आएको छु, खर्च कटाएरै महिनामा कम्तीमा रु एक लाखको व्यापार हुन्छ ।” भौतिक संरचना निर्माणका लागि बढी रकम खर्च गरेको उहाँले बताउनुभयो । पराल मौसमबाहेकका समयमा महँगो पर्ने भएकाले पनि पहिले नै किनेर राख्न र अन्य कामका लागि छुट्टै टहरा बनाएको श्रेष्ठको भनाइ छ । “बाजेसँग अन्य व्यापार व्यवसायमा सामेल थिए, ३० वर्षपछि किसान हुन मन लाग्यो, अनि व्यापारभन्दा खेतीमा फाइदा देखेँ”, उहाँले भन्नुभयो, “गर्मी, जाडो दुवै मौसममा च्याउखेती गर्दै आएको छु, यसको बजार सजिलै र मुल्य राम्रो पाइन्छ ।रासस