चितवनको सौराहामा पर्यटकीयमार्ग निर्माण हुने भएको छ । सौराहाको ड्याकदेखि मगरटोलसम्म निर्माण हुने नमूना पर्यटकीयमार्गको बुधबार शिलान्यास गरिएको हो । नेपाल सरकार, सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत् सौराहा बजार सौन्दर्यीकरण अन्तर्गत पर्ने सो मार्गको रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रह्लाद सापकोटाले शिलान्यास गर्नुभयो । उहाँले तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचत सौराहाको भौतिक पूर्वाधारको गति ३० वर्ष अघिकै अवस्थामा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन साइकल लेन, नाला, हरियाली पार्क र फुटपाथसहित १५ मिटर चौडाइ र करिब एक हजार ५०० मिटर लम्बाइको सडक बनाउन लागिएको बताउनुभयो । कूल रू १४ करोड २४ लाखको लागतमा पदमार्ग निर्माणको ठेक्का सम्झौता भइसकेको छ । “सौराहाको पर्यापर्यटनका लागि रत्ननगर नगरपालिकाले विशेष प्राथमिकतामा राखेको छ । हामी सबै मिलेर दोस्रो पर्यटकीय गन्तव्य बनाउन लाग्नुपर्छ”, उहाँले भन्नुभयो । सौराहाको सुन्दरता बढाउन र समुदायको दीर्घकालीन हितका निम्ति यो आयोजना निर्माण गरिन लागेकाले निर्माणका क्रममा भत्काउनुपर्ने स्थायी÷अस्थायीका लागि कसैले पनि चित्त दुखाउन नहुने उहाँको भनाइ छ । उहाँले सिमलको रुख काट्ने प्रक्रियाका लागि निकुञ्जसँग समन्वय गर्ने र सडक निर्माणका क्रममा घरविहीन हुनेलाई नगरपालिकाले आवश्यक पहल गर्ने प्रतिद्धबता व्यक्त गर्नुभयो ।रासस