सहरी विकास मन्त्रालयको संयोजनमा नेपालमा पहिलोपटक ‘स्पेसल प्लानिङ प्लेटफर्म’ नामको दुई दिने सम्मेलन सुरु भएको छ । युएन ह्याविट्याट एवं जापान सरकारको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयसँगको सहकार्यमा ‘एकीकृत र जलवायु अनुकूलन सहरी विकासका लागि स्थानीय योजना’ भन्ने नारासहित पाँचौँ संस्करणको सम्मेलन आजदेखि नेपालमा सुरु भएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै सहरी विकासमन्त्री विक्रम पाण्डेले सम्मेलनले सहरी पूर्वाधार निर्माणका लागि मार्गनिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो । सहरी क्षेत्रको दिगो विकासका लागि सम्मेलन फलदायी हुने उहाँको भनाइ थियो । “सम्मेलनले नीति निर्माता, सहरी योजनाकार र शिक्षाविद्लाई आगामी दिनमा काम गर्न सजिलो बनाउनेछ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको असरबाट अनुकूलनतर्फ कसरी काम गर्ने भन्ने विषयमा अनुभव आदानप्रदान हुनेछ ।” उहाँले नयाँ सहर निर्माण भइरहेको नेपालका लागि अन्य देशका सहरले सामना गरिरहेको समस्या र तिनका सिकाइ उपयोग हुने बताउनुभयो । मन्त्रालयका सचिव सुरेश आचार्यले सहरी क्षेत्रको पूर्वाधार निर्माणमा भूमिको प्रयोग नै महत्वपूर्ण रहेकाले त्यसको व्यवस्थापनमा सम्मेलनले दिशानिर्देश गर्ने बताउनुभयो । राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले सहरी योजना निर्माणका लागि भूमिलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विभिन्न देशका अनुभवले सहयोग पुग्ने भनाइ राख्नुभयो ।रासस