“उड्थ्यौ चट्ट परेर चञ्चल भई स्वच्छन्द आकासमा पुग्थ्यौ चाख्न मिठामिठा फलहरू साथी लिई साथमा । छैनन् पल्लवयुक्त वृक्ष वनमा सिध्याइए वल्लरी क्रीडा गर्न नपाइने छ धरती बाँच्छ्यौ चरी केगरी ।।” कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता संग्रह ‘दुलही’ को बाँच्छ्याँै चरी केगरी शीर्षकको यस कवितांशमा भनिए जस्तै पछिल्लो समयमा बस्ती विकासको क्रम बढ्दा चराहरूको वासस्थान पनि नासिँदै गएका छन् । बर्सेनि चराहरूको सङ्ख्या घट्दै गएको छ । बर्सेनि हुने गणनामा चराको सङ्ख्या घट्दो क्रममा देखाइएको छ । विश्वव्यापीरुपमा प्रत्येक वर्ष जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म जलचराको गणना गरिने पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो । पोखरामा पनि प्रत्येक वर्ष जलचराको गणना गर्दै आइएकामा यसवर्ष जनवरीको १२, १३ र १४ तारिखमा तिनको गणना गरिएको उहाँले बताउनुभयो । तालैतालको सहर पोखरामा रहेका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीचभाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदीलगायत खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् । पोखरा आसपासका क्षेत्रका साथै हिमालपारिको जिल्ला मुस्ताङहुँदै बग्ने कालीगण्डकीसहित विभिन्न जल सम्पदाका कारण पोखरा मात्र नभइ समग्र गण्डकी प्रदेश नै चराचुरुङ्गीका लागि आकर्षक वासस्थानमा मानिन्छ । अध्यक्ष घिमिरेका अनुसार पोखरामा यसवर्षको जलचरा गणना लेखनाथका सात ताल, विजयपुर खोला र फेवाताल आसपासका क्षेत्रमा गरिएको थियो ।रासस