सात वर्षको अवधिमा घोराहीका विभिन्न वडामा ४३ जलाशय निर्माण गरिएका छन् । यी जलाशयले घोराहीको विकास र समृद्धिका लागि सहयोग पु¥याउने अपेक्षा गरिएको छ । जलाशयका माध्यमबाट पर्यावरण जोगाउनुका साथै कृषि क्षेत्रको विकासका लागि खेतबारीमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य छ । यस अवधिमा घोराही उपमहानगरसँगै प्रदेश र सङ्घीय सरकारको करिब रु २० करोड २१ लाखको लागतमा करिब ९० बिघा क्षेत्रफलमा जलाशय निर्माण गरिएका छन् । बढ्दो जनसङ्ख्यासँगै पानीको मुहान सुक्दै जान थालेकाले कृत्रिम जलाशयका माध्यमबाट पानी संरक्षणमा उपमहानगरले चालेको यो कदमलाई सकारात्मक प्रयासका रुपमा लिइएको छ । घोराही उपमहानगरका १९ वडामध्ये १४ वडामा ३४ जलाशय निर्माण गरिएका छन् । वडागत रुपमा सबैभन्दा धेरै जलाशय वडा नं १७ मा निर्माण गरिएका छन् । उक्त वडामा आठ जलाशय बनेका छन् । वडा नं १ मा चरिङ्गे, भोटे, चेपे, गवरे र चुरे जलाशयमा जलाशय बनाइएका छन् । त्यसैगरी वडा नं २ मा चेपे, बलरामपुर र शहरेमा जलाशय निर्माण गरिएको छ् । चेपे जलाशय सुुर्केडाँगी, बाहुुनटारी, राइटारीलगायतका ठाउँका लागि सिँचाइसँगै जल विहारका लागि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको स्थानीय महेश चौधरी बताउनुहुन्छ । यस्तै वडा नं ४ मा अमारे, चरीखुुट्टे, छरछरे, रोहिणी र सुकी दह, वडा नंं ५ मा धारापानी र भमकी सिमसार जलाशय, वडा नं ६ मा लख्वारे, पिपल–छहारी, फचकपुर तल्लो र फचकपुुर माथिल्लो जलाशय, वडा नं ८ मा लरैना जलाशय, वडा नं १० मा ठाँटी गाउँ जलाशय र वडा नं ११ मा सिरुगैरा जलाशय निर्माण गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।रासस