उदयपुरमा मौरीपालन पेसा फस्टाउन नसकेपछि मौरीपालकहरु चिन्तित बनेका छन् । चौदण्डीगढी नगरपालिका सावा सिद्धिपुरका भक्तबहादुर मगरले दश वर्षदेखि मौरीपालन गर्दै आएपनि यो पेशा सङ्कटमा पर्दै गएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बर्सेनि मौरीको महका लागि बगैँचा, फूलको अभाव छ, अर्कातिर कृषकले रासायनिक मल, विषादी प्रयोग गरेर खेती गर्दा अधिकांश मौरी विषादीले मर्ने गरेका छन् ।” सिद्धिपुरका दीपक मगरले विभिन्न कारणले मौरी मासिन थालेको छ भन्नुहुन्छ । त्यसैले मौरीका घार रित्तिने सम्भावना बढेको उहाँको भनाइ छ । चौदण्डी नगरपालिकाको रानीबास, बबला, सावासिद्धपुर क्षेत्रमा चार वर्षयता झन्डै ६ सय आधुनिक घार मौरी व्यावसायिक रुपमा पालन हुँदै आएको छ । कृषकले सोचेजस्तो मह उत्पादन गर्न नसक्दा व्यावसायिक रुपमा घाटा ब्यहोर्नु परेको रानीबासका कृषक देवराज बिष्टको गुनासो छ । बेलका क्षेत्रका ४० कृषकले झन्डै सात सय ५० घार मौरीपालन गरेको बेलका नगरपालिकाका प्रमुख अशोक कार्की बताउनुहुन्छ । प्रमुख कार्कीका अनुसार मौरीको चर्ने तथा मह सङ्कलन गर्ने स्थान, रूख बिरुवा, तरकारी, तोरी खेतीमा विषादी प्रयोग गर्दा मौरी मर्ने वा मासिने कारण कृषकले सोचेजस्तो फाइदा लिन सकिरहेका छैनन् । कार्कीले अहिले नगरपालिका जिल्लाकै व्यावसायिक मौरीपालनमा अब्बल रहेको दाबी गर्नुभयो । बेलकामा परम्परागत डुडेमौरी पालन परिवर्तन गरेर धेरै कृषकले आधुनिक घारेमौरी सुरु गरेको स्थानीय सुजनकुमार बिष्ट बताउनुहुन्छ । कटारी नगरपालिकाको रिस्कु, सिरीसे, हर्देनी, सोरुङछबीसे क्षेत्रमा व्यावसायिक रुपमा मौरीपालन बढेको छ ।रासस