कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले मलखादको समस्या दीर्घकालीनरुपमा समाधान गर्न सरकार तत्पर रहेको बताउनुभएको छ । पर्साको वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको आज निरीक्षणपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले बर्सेनि हुने मलखादको समस्या सरकारले गम्भीरतापूर्वक लिएको र यसको दीर्घकालीनरुपमा समाधानका लागि नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । किसानलाई समयमै मलखाद्य, बीउबिजन र कृषि उपकरण उपलब्ध गराउन सरकारले ठोस योजना बनाइरहेको उल्लेख गर्नुहुँदै मन्त्री साहले परम्परागत कृषि प्रणालीमा सुधार ल्याउनुपर्ने औँल्याउनुभयो । किसानलाई मल अभाव हुन नदिन कम्तीमा छ महिनासम्मका लागि माग धान्ने गरी व्यवस्थापन गर्न कर्मचारीलाई निर्देशन दिनुहुँदै उहाँले मलखादको अभाव हुन नदिन समयमै मल खरिद प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो । मन्त्री साहले वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा पुगेर मलको अवस्था, कर्मचारीको नियमिततालगायतका विषयमा छड्के अनुगमन गर्नुभयो ।रासस