मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले पदबाट राजीनामा दिनुभएको छ । प्रदेशको समग्र विकासको योजना बनाउने उद्देश्यसहित गठित आयोगका उपाध्यक्ष झाले पदबाट राजीनामा दिनुभएको हो । विसं २०७६ भदौ २२ गते उपाध्यक्षमा नियुक्त हुनुभएको झा आफूले चुनावपश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा राजीनामा दिएको बताउनुभयो । यसअघि रहेका नीति आयोगका उपाध्यक्ष डा हरिवंश झालाई हटाएर डा भोगेन्द्र झालाई ल्याइएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत अर्थशास्त्रको प्राध्यापकबाट केही वर्षअघि उहाँले अवकाश लिनुभएको थियो । प्रदेशको सन्तुलित र समष्टिगत विकासका लागि आवश्यक नीति, रणनीतिक विषय क्षेत्रका दीर्घकालीन, मध्यमकालीन र वार्षिक विकास योजना बनाउने तथा प्रदेशको आवश्यक नीति निर्माण कार्यमा प्रदेश सरकारलाई सहयोग पुर्याउने मुख्य जिम्मेवारीसहित मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश नीति आयोगको गठन हुने व्यवस्था छ ।रासस