परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसमा अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन श्रीलङ्काको भ्रमण गर्नुहुनेछ । उहाँ आफ्ना श्रीलङ्काली समकक्षी अली साब्रीको निमन्त्रणमा कोलोम्बोमा यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने समारोहमा सम्मानित अतिथिको रुपमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री पौड्यालले माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चौकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका’मा सहभागी हुने कार्यक्रम छ । यसैगरी उहाँ माघ २१ गते ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुनुहुने, श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुहुने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । परराष्ट्रमन्त्री डा पौड्याल माघ २० तारिख कोलम्बो प्रस्थान गर्नुहुने र माघ २५ गते काठमाडौँ फर्कनुहुने कार्यक्रम छ ।रासस