दाहाल प्रतिष्ठानद्वारा स्थापित रु एक लाख एक हजार राशिको पद्मप्रसाद कृष्णकुमारी दाहाल सामाजिक सम्मान–२०७९ विराटनगरस्थित पाणिनी संस्कृत विद्यालयलाई प्रदान गरिएको छ । दाहाल प्रतिष्ठानको चौथो अधिवेशनको उद्घाटन सत्रमा सो पुरस्कार प्रदान गरिएको हो । समाजसेवी बद्रीप्रसाद पहाडीले आफ्ना माता पिताको स्मृतिमा सो पुरस्कार स्थापनाका लागि अक्षयकोषको व्यवस्था गर्नुभएको हो । उहाँले अक्षयकोष स्थापना गर्न २०७६ सालमा दाहाल प्रतिष्ठानलाई रु १० लाख प्रदान गर्नुभएको थियो । कोरोना महामारीलगायत प्रतिकुलताका कारण दुई वर्ष ढिलो गरी यस वर्षदेखि सो पुरस्कार प्रदान गरिएको कोषका संयोजक रामबाबु दाहालले राससलाई जानकारी दिनुभयो । सो कार्यक्रममा छ जना श्रष्टालाई जनही रु ११ हजार राशिको पद्मप्रसाद–कृष्णकुमारी दाहाल प्रतिभा सम्मान पनि प्रदान गरिएको जनाइएको छ ।रासस