नेपाल क्रिकेट सङ्घ (क्यान)का सात जना केन्द्रीय सदस्यले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका छन् । पोखरामा आजदेखि क्यानको बैठक सुरु भएकामा असन्तुष्ट पक्षले कार्यसम्पादन समितिको राजीनामा माग्दै बैठक बहिष्कार गरेका हुन् । केही सदस्यले बैठक बहिष्कार गरेपछि साँझ मात्र क्यान बैठक सुरु भएको छ । बहिष्कार गरेका सदस्यले कार्यसम्पादन समितिको राजीनामाको माग गर्दै क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । असन्तुष्ट पक्षले आज साँझ पत्रकार सम्मेलन आयोजना गरी नेपाल क्रिकेट सङ्घ र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सबीच भएको सम्झौतापश्चात् नेपाली टी–२० लिगमा भएका विभिन्न अवाञ्छित गतिविधिबाट नेपाली क्रिकेटको बदनाम भएको दाबी गरिएको छ । पत्रकार सम्मेलनमा क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतमले टी–२० लिगलगायतका विषयमा कार्यसम्पादन समितिको बैठकबाट नै सम्पूर्ण निर्णय गरी बोर्डलाई जानकारी नगराइएको र क्यानको बदनाम भई सङ्घ दुर्घटनाको सङ्घारमा पुगेकाले कार्यसम्पादन समिति र गभर्निङ सदस्य जिम्मेवार रहेकाले राजीनामा माग गरी बोर्ड बैठक बहिष्कार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा क्यानले गम्भीर गल्ती गरेको निष्कर्ष निकाली राखेपलाई क्रिकेट सङ्घ विघटन गर्न सिफारिस गरेको छ । क्यान निलम्बनको खतरा भइरहेको अवस्थामा क्रिकेट सङ्घको साख र मर्यादा बचाउनका लागि सम्पूर्ण निर्णय र काम कारबाही अगाडि बढाउने कार्यसम्पादन समिति र गभर्निङ काउन्सिलका सदस्यले राजीनामा दिनुपर्दछ भन्ने हामीहरूको माग हो ।”रासस