मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरू भएको २३ वर्षपछि आयोजनाभित्रका बासिन्दालाई खानेपानीका धारा वितरण सुरु गरिएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर आर्थिक वर्ष २०५८÷५९ बाट सुरू गरेको काममा विभिन्न कारणले ढिलाइ हुँदा आयोजनाले पटकपटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको छ । कमेरोटार जग्गा एकीकरण आयोजना क्षेत्रभित्र रहेका करिब दुई हजार एक सय धारामा पानी वितरण सुरु गरिएको हो । नगरपालिकाको विशेष पहलमा आयोजना र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड थिमि शाखाले संयुक्तरुपमा कमेरोटार क्षेत्रमा खानेपानी वितरण सुरु गरेको नगर प्रमुख एवं आयोजना व्यवस्थापन उपसमितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । खानेपानीको चरम अभाव रहेको एक हजार चार सय ८६ रोपनी क्षेत्रभित्र सञ्चालित आयोजनाभित्र करिब दुई हजार दुई सय कित्ताका घरका धारामा खानेपानीको लाइन जडानको काम सम्पन्न गरेर पानी वितरण सुरु गरिएको र पानीका लागि सबैलाई आवेदन दिन आह्वान गरिएको आयोजना प्रमुख ई सत्यनारायण शाहले जानकारी दिनुभयो । उहाँले यस क्षेत्रमा अन्तिमसम्ममा करिब तीन हजार धारा वितरण गर्ने लक्ष्य राखेको बताउनुभयो । आयोजनाले यसअघि नै घर तथा घर निर्माण नभएका प्लटमा समेत खानेपानीका धाराको पाइपलाइन विस्तार गरिसकेको छ । आयोजनाभित्र पछि निर्माण हुने घरमा धाराको पाइप राख्नकै लागि सडक खन्न नपर्ने गरी खाली जग्गामा पाइप लाईन छ। रासस