जोखिमको पर्वाह नगरी मजदुरले बागलुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन् । राम्चेढुङ्गादेखि पदमार्ग निर्माणका लागि कामदार वनमै बास बसे । बडिगाड गाउँपालिकाको फोर्सादेखि आएका मजदुरले महिनौँसम्म अप्ठ्यारोमा बसेर पनि काम गरेका हुन् । कठिन भौगोलिक अवस्थालाई छिचोलेर पदमार्ग बनाइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बताउनुभयो । “चट्टाने भिरमा मजदुरले काम गरे”, उहाँले भन्नुभयो, “पहरो काटेर, कतै चार÷पाँच मिटर तलबाट पर्खाल उठाएर पनि पदमार्ग बनाइएको छ ।” चार वर्षअघि पदमार्ग निर्माण थालिएको थियो । अहिलेसम्म राम्चेढुङ्गादेखि तुलसीको मैरोसम्म तीन किमी पदमार्ग बनिसकेको छ । सबैभन्दा जटिल स्थल पार गरेर पदमार्ग बनाइएकोे उहाँले सुनाउनुभयो । दुई वर्षअघि ठूलासम्मादेखि गल्लाको घाँटीसम्म पदमार्ग बनाउन फोर्साली मजदुर खटिएका थिए । त्योबेला उनीहरु वनमै टहरो हालेर बसेका थिए । दैनिक बस्तीसम्म आवतजावत गर्न कठिनाइ हुने भएपछि वनमै बास बसेर काम गरिएको कामदार डिलबहादुर घर्तीले बताउनुभयो । टहरो हालेर बस्दा ओढ्ने, ओछ्याउने कपडादेखि खानलाई चाहिने सामान जुटाएर जाने गरिएको उहाँको भनाइ थियो ।रासस