स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्टाफ नर्सलाई कम पारिश्रमिक दिने स्वास्थ्य सङ्स्थाको नवीकरण नगर्ने बताउनुभएको छ । आज यहाँ नेपाल नर्सिङ सङ्घको ६१औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले नर्सको तलब निकै कम भएको सुन्नमा आएको भन्दै बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सको सेवासुविधा वृद्धि गर्नका लागि भूमिका खेल्ने बताउनुभयो । उहाँले श्रम शोषण गर्ने स्वास्थ्य संस्थालाई अनुगमन गरी कारबाही गर्नेसमेत चेतावनी दिनुभयो । मन्त्री गिरीले नर्स मैत्री नीति बनाउनका लागि सक्रिय भूमिका खेल्ने धारणा राख्नुभयो । “नर्सका समस्या पहिचान गरेर राज्यले न्यायोचित ढङ्गले सम्बोधन नगर्दा उनीहरुमा नैराश्यता उत्पन्न हुन्छ र समाजमा अन्य समस्या देखिन्छ”, उहाँले भन्नुभयो, “नर्सले एउटा लेभल पास गर्नुहुन्छ । मैले सुने आठ हजार दश हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । यो निकै चिन्ताको विषय हो । यसरी न्यूनतम तलब भत्ता पनि नदिइ श्रमको शोषण गर्ने कुरा कुनै पनि हालतमा ठीक हुँदैन ।” मन्त्री गिरीले अगाडि भन्नुभयो, “नर्सलाई कम तलब दिने अस्पताल र निजी स्वास्थ्य संस्थाको राम्रो गरी अनुगमन हुनेछ र आवश्यक कारबाही हुन्छ । यसमा कुनै सम्झौता हुँदैन तथ्य र प्रमाण भेटियो भने नवीकरण नगर्ने र खारेज गर्नेसम्म पनि हुनसक्छ ।”रासस