भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरको मख्य गर्भगृहमा राख्न भगवान् रामको बालापन निर्माणका लागि कालीगण्डकी नदीबाट भारत पठाउन लागिएको शिला (ढुङ्गा) जनकपुरधाम पुगेको छ । शनिबार साँझ जानकी मन्दिरमा ल्याइएको शिलामा आज बिहान महापूजा गरियो । जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहित साधु, महन्थ र श्रद्धालु भक्तजनले मन्दिर प्राङ्गणमा महापूजा गर्नुभएको थियो । महन्थ रामतपेश्वरका उत्तराधिकारी रोशन दासले शिलामा पूजाका लागि आज दिनभर मन्दिर प्राङ्गणमा राखिने र भोलि बिहान शोभायात्रासहित जनकपुरधाम परिक्रमा गरी अयोध्या लगिने जानकारी दिनुभयो । उहाँले जानकी मन्दिरका महन्थ दास, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिलगायत श्रद्धालुले शिला लिएर त्यसतर्फ जाने कार्यक्रम रहेको बताउनुभयो । महापूजा समारोहमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, नेता निधि, एमाले नेत्री जुलीकुमारी महतो (महासेठ) लगायतको उपस्थिति थियो ।रासस