एक दशक अघिसम्म महाकाली नदीमा सजिलै पाइने यहाँको प्रख्यात ‘महाशेर माछा’ लोप हुन थालेको छ । माछाका विभिन्न प्रजातिमध्येको एक प्रजाति ‘महाशेर माछा’ आजभोलि महाकाली नदीमा मुस्किलले पाइन्छ । देख्नमा आकर्षक, तौल धेरै हुने र खानमा पनि स्वादिष्ट हुने भएकाले माछाको राजाका रुपमा समेत महाशेरलाई चिन्ने गरिन्छ । पछिल्लो समय महाकाली नदीमा उक्त माछा मात्रै नभई अन्य माछासमेत पाउन छाडेको बताइन्छ । आठ वर्षदेखि माछा मार्ने ठेक्का लिँदै आउनुभएका यहाँका माछा व्यवसायी जगत सिंहले पछिल्लो समय महाकाली नदीमा फाट्टफुट रुपमा मात्रै महाशेर माछा पाउने गरेको बताउनुभयो । “अहिले महाशेर मात्रै होइन अन्य माछा पनि धेरै कम पाइन थालेका छन्”, उहाँले भन्नुभयो, “नदीमा ताल नहुनु र अनियन्त्रित रुपमा नदी उत्खननले पनि माछा लोप हुन थालेका छन् ।” महाकाली किनारका अधिकांश मानिसले माछा मारेर जीवकोपार्जन गर्ने गरेका छन् । नदीमा माछा न्यून पाउन थालेपछि व्यवसायीसमेत चिन्तित बनेका छन् । एक दशकअघिसम्म महाकालीमा एउटै एक÷डेढ क्विन्टलभन्दा ठूलो तौल भएको महाशेर भेट्न सकिन्थ्यो । अहिले १०÷१५ किलोग्रामका महाशेर पनि भेटिन गाह्रो हुने गरेको माछा व्यवसायी बताउँछन् ।रासस