जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फष्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ । दुई दशकदेखि सिद्रा व्यापार गरिरहनुभएका अनिश अन्सारीले दैनिक एकदेखि डेढ क्विन्टल सिद्रा बेचिरहेको बताउनुभयो । असोज अन्तिम हप्तादेखि बढेको सिद्राको व्यापार फागुनसम्म चल्ने अन्सारी बताउनुहुन्छ । वर्षभरि ४० देखि ४५ क्विन्टलसम्म सिद्राको व्यापार गर्ने उहाँले बताउनुभयो । “अरुभन्दा जाडो मौसममा सिद्राको व्यापार फष्टाउँछ”, उहाँ भन्नुहुन्छ । चन्द्रौटा बजारभित्र झण्डै दुई दर्जन व्यापारीले सिद्रा बेच्छन् । यहाँको सिद्रा किन्न रोल्पा, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पादेखि कोहलपुरसम्मबाट सेवाग्राही आउँछन् । जाडो हटाउन सिद्राको झोल खाने चलनछ । सिद्रा साना साना भुरा माछा मारेर बनाइन्छ । खाँदा माछाको स्वाद आउने र जाडो भगाउने हुँदा यसको व्यापार जाडोमा फष्टाएको हो । रुकुम मुसिकोट नगरपालिका–११ बाट सिद्रा लिन चन्द्रौटा बजार आउनुभएकी जमुना बुढाले पहाडमा सिद्राको महत्व बढी भएकाले सिद्रा किन्न आएको बताउनुभयो । जाडोमा तातो झोलको लागि सिद्रा खान उत्तम रहेको उहाँले सुनाउनुभयो । सुत्केरी, वृद्धवृद्धा, बालबच्चालाई चिसोबाट बचाउन यसको झोल उत्तम हुने उहाँको विश्वास छ । दाङ राप्ती गाउँपालिका–९ कि पारु पुनले हरेक वर्ष सिद्रा लिन आउने गरेको सुनाउनुभयो । आफूले किनेको सिद्रा केही घरमा प्रयोग गर्ने अरु पहाडमा दिदीबहिनीलाई पाहुरको रुपमा पठाइदिने बताउनुभयो ।रासस