स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ विर्घामा मातृभूमि पुस्तकालय सञ्चालनमा आएको छ । जापान सरकारको शान्ति भोलेन्टियर एशोसियसन, रिड नेपाल र स्थानीय समुदायको सहयोगमा सुविधासम्पन्न भवन निर्माण गरी सरस्वती पूजाको अवसर पारेर पुस्तकालय सञ्चालनमा ल्याइएको हो । पुस्तकालय भवनमा पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष, सूचना सञ्चार कक्ष, श्रव्यदृश्य कक्ष, विपद् जोखिम न्यूनीकरण कक्ष, प्रौढ कक्ष र सामुदायिक सभाहल रहेको मातृभूमि पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताउनुभयो । “स–साना बालबालिकादेखि प्रौढ उमेर समूहलाई लक्षित गरेर रिड मोडलमा पुस्तकालय निर्माण गरिएकाले सबै उमेर समूहका लागि उत्तिकै लाभदायी हुने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो, “अग्रजहरूले सुम्पिएको गम्भीर र गहकिलो जिम्मेवारीलाई सबैको साथ र सहयोगबाट सम्पन्न गर्न पाएकोमा खुशी छु र सहयोगी सबैप्रति कृतज्ञतासमेत व्यक्त गर्दछु ।” अत्याधुनिक पुस्तकालय सञ्चालनमा आएसँगै स्थानीयवासीमा पठन संस्कृतिको विकास हुनुका साथै सबै समेर समूहका पाठकको सिकाइको थलो बन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । दुई चरणमा निर्माण गर्ने गरी विसं २०७७ चैतमा पुस्तकालय निर्माणका लागि सम्झौता गरिएको थियो । पहिलो चरणमा कूल रु एक करोड १९ लाख एक हजार ९१ को लागतमा भवन निर्माण गर्ने सम्झौता भएको थियो । जसमध्ये जापान सरकारका तर्फबाट रु एक करोड १५ लाख सहयोग र बाँकी रु चार लाख एक हजार ९१ स्थानीय समुदायले व्यवस्थापन गरेको हो ।रासस