कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिकरूपमा केरा खेती गरेको एघार बर्ष भयो । विसं २०५२ मा समान्यरूपमा केरा खेती गर्दै आउनुभएका उहाँले २०६८ सालपछि तालिम लिएर व्यावसायिकरूप दिएपछि प्राप्त कमाइले कमाइ राम्रै हुँदै आएको बताउनुभयो । हाल आठ बिघा जमिनमा केरा खेती गरिरहनुभएका चौधरीले बार्षिक रु १६ लाखदेखि रु २० लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो । “राम्रो मूल्य पाए सबै खर्च कटाएर बार्षिक रु बीस लाखसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “ केराबाट भएको कमाइले घर खर्च चलाउनेदेखि छोराछोरीलाई शिक्षामा लगानी गर्न पाउँदा म सन्तुष्ट छु ।” एक कठ्ठा जमिनमा केरा खेती गर्नुभएका चौधरीले अहिले केराको बेर्नासमेत उत्पादन गर्ने नर्सरी सञ्चालन गर्नुभएको छ । “चार÷पाँच बर्षअघि नर्सरी बनाउँदा कृषि ज्ञान केन्द्रबाट रु दुई लाख र कृष्णपुर नगरपालिकाबाट रु एक लाख अनुदान मिलेको थियो ।” उहाँले “ त्यो बाहेक केरा खेतीका लागि अहिलेसम्म कहिकतैबाट सहयोग वा अनुदान पाइएको छैन् ।”आठ बिघा जमिन लिजमा लिएबापत बार्षिक रु तीन लाख २० हजार भाडा तिर्दै आउनुभएका चौधरीले उत्पादित केरा महेन्द्रनगर, धनगढी र अत्तरीयाका थोक व्यापारीले खरिद गर्ने गरेको जानकारी दिनुभयो ।रासस