चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन गर्नुभएको हो । कलेजको १६औँ वार्षिकोत्सवको अवसरमा इन्स्टिच्यूट सञ्चालनमा ल्याइएको हो । सो अवसरमा बोल्दै सचिव डा पोखरेलले क्यान्सर रोगको उपचारमा नेपाल सरकारले प्रभावकारी रुपमा सेवा दिन नसकेको समयमा इन्स्टिच्यूट स्थापना हुनुले उपचारमा देखिएका समस्या समाधानका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारको कार्यक्रम लागू भएको यस इन्स्टिच्यूटमा विपन्न नागरिकले समेत सेवा पाउनेछन् ।” सरकारका कार्यक्रम लागू गर्दै रोग निवारणमा महत्वपूर्ण भूमिका खेल्नसमेत चितवन मेडिकल कलेज सफल भएको उहाँको भनाइ थियो । क्यान्सर रोगको उपचारका लागि बिरामी बाहिर जानु नपर्ने गरी सेवा दिनसमेत उहाँले आग्रह गर्नुभयो । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भगिनी संस्थाका रुपमा इन्स्टिच्यूट सञ्चालनमा ल्याएको हो । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र पोखरेलले रेडियसनसँगै ब्राकिथेरापी, स्पेक्ट सिटी स्क्यानलगायत क्यान्सर उपचारमा आवश्यक अत्याधुनिक उपकरण जडान गरिएको बताउनुभयो ।रासस