यहाँको रामप्रसादराई गाउँपालिकाले वडास्तरबाट भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो । सहजरूपमा भत्ता पाएपछि वृद्धवृद्धा तथा असक्त नागरिक खुसी भएका छन् । वडा नं ७ बासीखोराका ८२ वर्षीय वृद्ध जागिरधन राईले आफ्नै घर छेउबाट भत्ता लिन पाउँदा हर्षित भएको बताउनुभयो । भत्ता लिन गाउँपालिका केन्द्रसम्म पुग्न धेरै सास्ती हुने गरेको उहाँको भनाइ छ । “वडाबाटै भत्ता पाउँदा अति नै खुसी लागको छ”, वृद्ध राईले भन्नुभयो, “बुढेसकालको ज्यान हिँडेर जान समस्या छ । गाडीमा जाँदा पनि धेरै खर्च हुन्थ्यो । गाउँपालिकाबाट सरहरू आएर यही भत्ता दिनुभयो । अहिले धेरै सहज भएको छ ।” जनप्रतिनिधि आएर पीडा सुन्दै हातमा भत्ता राखिदिएको भन्दै ७७ वर्षीया चेलीमाया राईले खुसी प्रकट गर्नुभयो । गाउँपालिकाले घुम्ती शिविरमार्फत टोलका मानिस भेला गरेर वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । खास गरेर सामाजिक सुरक्षा भत्ता लिन सहज बनाउन यस्तो कामको थालनी गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राई (निर्माण)ले बताउनुभयो । अभियानअन्तर्गत गाउँपालिकाभरिका सामाजिक सुरक्षा भत्ता पाउने सम्पूर्ण एक हजार नौ सय तीन जनालाई भत्ता वितरण गरिने उहाँको भनाइ छ । “यहाँका ज्येष्ठ तथा अशक्तलाई लक्षित गरेर सेवा दिइरहेका छौँ”, अध्यक्ष राईले भन्नुभयो । सरकारले राहतको रूपमा दिएको सामाजिक सुरक्षा भत्ता लिन आउँदा समस्या भएको गुनासो आफूसम्म आएपछि कार्यपालिका बैठकबाट निर्णय पारित गरेर कामको थालनी गरेको राईले बताउनुभयो । बुधबारबाट सुरु भएको वितरणकार्य माघ १९ गतेसम्म सञ्चालन हुने छ । वडास्तरमै खाता खोल्ने कामसमेत भइरहेको उहाँले जानकारी दिनुभयो । नागरिकको गुनासो सुनेर सोहीअनुसार काम गर्नका लागि सम्पूर्ण वडामा कल सेन्टर सञ्चालनका लागि काम गर्ने योजना रहेको समेत अध्यक्ष राईले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकको गुनासो तथा सुझाव सङ्कलनका लागि कल सेन्टर सञ्चालनका लागि काम गरिरहेका छौँ ।रासस