प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वका अवसरमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्न देशभरका सरस्वती मन्दिरमा भक्तजनको भीड लागेको छ । आजका दिन निष्ठापूर्वक सरस्वतीको पूजा–आराधना गरेमा विद्या प्राप्त हुने शास्त्रीय मान्यता छ । यस अवसरमा लाजिम्पाटस्थित नील सरस्वतीस्थान, स्वयम्भूस्थित सरस्वती मन्दिर, ललितपुर लेलेस्थित सरस्वती कुण्डलगायत राजधानीका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । मैतीदेवी मन्दिर क्षेत्रमा रहेको सरस्वती मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको काठमाडौँ महानगरपालिका–३० का अध्यक्षसमेत रहनुभएका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो । यसैगरी काठमाडौँ उपत्यका बाहिरका सरस्वती मन्दिरमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकीदेवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकीदेवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।रासस