नेपाल वायु सेवा निगमले टिकट बिक्री प्रणाली व्यवस्थापन प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका लागि निगमले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सँग छलफल गर्दै १५ दिनभित्र समस्या समाधान गर्नेगरी कार्यदल गठन गरेको छ । निगमको टिकट बिक्री वृद्धि गर्नुका साथै बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनका लागि कार्यदल गठन गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । आठ सदस्यीय कार्यदलमा निगमको वाणिज्य निर्देशक जनकराज कालाखेती, अर्थ विभाग निर्देशक उमेश पौडेल, साधरण सेवा तथा सम्पत्ति व्यवस्थापन निर्देशक अनिल घिमिरे र वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डे रहनुभएको छ । त्यस्तै नाट्टाको तर्फबाट वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल, महासचिव कुमारमणि थपलिया, कोषाध्यक्ष राजकुमार देवकोटा र कार्यसमिति सदस्य सवला भण्डारी रहनुभएको छ ।रासस