म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर उपकरण जडान सुरु भएको छ । आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचार्यले आगामी चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको भन्दै हाल बाँध, सुरुङ र पेनस्टेक पाइपलाइनको परीक्षण गर्ने तयारी भएको बताउनुभयो । उहाँका अनुसार तीन हजार पाँच मिटर लामो सुरुङ पलास्टरको काम पनि अन्तिम चरणमा छ । अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिला बगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण भएको छ । बाँध र ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) बनाइएको छ । डिसेन्डरदेखि सुरुङसम्म दुई सय ४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान भएको छ । बाँध, डिसेन्डर र एप्रोच क्यानलको पहिलो चरणको परीक्षण सफल भएको छ । अमिला काफलमा रहेको आउटलेटदेखि विद्युतगृहसम्म चार सय ८५ मिटर पेनस्टक पाइप जडान भएको छ । आउटलेटदेखि विद्युत्गृहको दुरी एक हजार २०० मिटर र उचाइ चार सय ८५ मिटर छ । पोखरे बगरस्थित गोजेखोल्सीमा पहाड काटेर विद्युत्गृहको भवन निर्माण सकेर झ्याल ढोका राख्ने र रङगरोगन भइरहेको छ ।रासस