सन्तानका लागि बुबाआमाले नगर्ने के हुन्छ र ? प्राय आफ्ना रहरलाई थाती राखेर सन्तानका लागि जीवन दिन तयार हुन्छन् सबैका बुबाआमा । त्यसैको एउटा ज्वलन्त उदाहरण गुल्मीमा देखिएको छ । जुम्लाको सिञ्जा गाउँपालिका–२ का लक्ष्मीकान्त आचार्य ६३ वर्ष पुग्नुभयो । उहाँले सन्तानका लागि बोक्दै आएको भारी अझै बिसाउनुभएको छैन । विगत ४३ वर्षदेखि भारी बोक्दै आउनुुभएका उहाँ १० वर्षदेखि गुल्मीमा बसेर काम गरिरहनुभएको छ । त्योभन्दा अगाडि आचार्य नेपालका १५ जिल्लामा कामको खोजीमा पुगिसक्नुभयो । उहाँले बोक्नुभएको राडीपाखीमा बाध्यतासँगै छोराछोरीको रहर पनि समेटिएकोे छ । त्यही रहर पूरा गर्न आचार्यले कहिल्यै फूर्सद पनि पाउनु भएन । आफ्ना छोराछोरीको रहरलाई लक्ष्यसम्म पु¥याउन पसिनै बगाएर सपना बुन्नेहरु बिरलै हुन्छन् । आचार्यको पनि एउटा सपना छोरा हेमन्तले इन्जिनियरिङ अध्ययन गरेर पूरा गर्नुभएको छ । अध्ययन सकेपछि उहाँले काठमाडौँमा काम गर्न पनि थाल्नुभएको छ । राडीपाखी बिक्री गरेकै भरमा छोरालाई इन्जिनियर बनाउनुभएका आचार्य अहिले खुसीले गद्गद हुनुहुन्छ । “छोराको रहरका लागि आफ्ना सपनालाई तिलाञ्जली दिएँ”, उहाँ भन्नुुहुन्छ, “राडीपाखी बेचेर छोरालाई इन्जिनियर बनाएँ, मेरा पनि सबै सपना पूरा भए ।” आचार्य मिहेनत र परिश्रम गरे कुनै सपना अधुरो नहुने बताउनहुन्छ ।रासस