सिराहाका प्रभुराम महरालाई आकर्षक मूर्ति बनाउन थालेको दुई दशकभन्दा बढी भयो । मूर्ति बनाउने सीप र कला भएमा राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उहाँले दिइरहनुभएको छ । ‘कालिगड’ अर्थात् मूर्तिकार महराको कला र सीपको विभिन्न जिल्लाबाट माग भइरहँदा मूर्ति बनाउनमा उहाँको व्यस्तता पनि बढ्ने गर्दछ । “आफ्नो जिन्दगी मूर्ति बनाउनमै रमाएको छ”, धनगढीको हसनपुरमा रहेको बाल उद्यान परिसरमा मूर्ति बनाउँदै गरेका बेला भेटिनुभएका महराले भन्नुभयो, “आफूले बनाएको मूर्ति मान्छेले मन पराउँदा सन्तुष्टिसँगै आम्दानी पनि भइरहेको छ ।” उहाँले बाल उद्यान परिसरमा शिवलिङ्ग, श्रीकृष्ण, सरस्वती, गाई र हात्तीको मूर्ति बनाउनुभएको छ । मूर्ति तयार गरेबाफत त्यसको आकार र उचाइअनुसारको ज्याला लिने गरेको उहाँ बताउनुहुन्छ । बाल उद्यानमा बनाइएका शिवलिङ्ग, सरस्वती, श्रीकृष्ण, गाई र हात्तीको मूर्तिबाट मात्रै उहाँले रु पाँच लाख ५० हजार पारिश्रमिक पाउनुभएको छ । सिराहाको लहान नगरपालिका घर भएका ४७ वर्षीय महरा मूर्ति बनाउन नेपालका विभिन्न जिल्ला पुग्नुहुन्छ । विद्यालय पढ्दाको उमेरमा पाठ्यपुस्तकका चित्र देखेर आफूलाई सानै उमेरदेखि मूर्ति बनाउने इच्छा जागेको अनुभव उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “सुरुका वर्षमा आफ्नै घरमा बनाएको बालबालिकाका माटोका खेलौनाका मूर्ति देखेर छरछिमेकीले मन पराउँदा आफूमा मूर्ति बनाउने उत्साह जाग्यो, त्यसपछि बिस्तारै विभिन्न देवीदेवताका मूर्ति बनाउँदै जाँदा आफूलाई छिमेकीहरुले सिपालु ‘कालिगड’ भन्न थाले ।”रासस