जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले बिक्री नभएपछि सुन्तलाका बिरुवा उखेलेर फाल्न थालेका छन् । फगाम जिल्लाको सुन्तलाको बिरुवाका लागि स्रोत केन्द्र भए पनि बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन थालिएको कृषक जोखबहादुर विक बताउनुहुन्छ । “गत वर्ष पाँच हजार बिरुवा उखेलेर फालेको थिएँ,” उहाँ भन्नुहुन्छ, “यसपालि हुर्किएका १० हजार बिरुवाले पनि बजार नपाएपछि उखेलेर टनेल हालेर गोलभेँडा लगाउने तयारी गरेको छु ।” सोही स्थानकी डिलकुमारीले पुन पनि बिक्री हुन छाडेपछि सुन्तलाका बिरुवा उत्पादन गर्न छोड्नुभएको छ । करिब पाँच रोपनी जमिनमा सुन्तलाको नर्सरी बनाउनुभएकी उहाँ छिमेकीलाई जग्गा भाडामा दिएर तातोपानी बजारमा झर्नुभएको छ । दुई वर्ष उमेरका सुन्तलाका बिरुवा रोप्न योग्य हुन्छन् । दुई वर्ष नाघेका बिरुवा बिक्री नभएपछि उखेलेर फाल्नुको विकल्प नभएको अर्का कृषक नारायण पुर्जा गुनासो गर्नुहुन्छ । “त्यसै लैजाओभन्दा पनि कोही आएनन्,” उहाँ भन्नुहुन्छ “सस्तो भनेर बाहिरबाट रोगी बिरुवा ल्याएर कृषकलाई बाड्दा रोग फैलिएको छ । जिल्ला भित्रै उत्पादन भएको स्वस्थ र हावापानी अनुकुलका बिरुवा नबिकेर फाल्नुपर्ने अवस्था आयो ।” पुर्जासँग ११ हजार सुन्तलाका बिरुवा छन्् । बजार बिस्तार हुन नसकेका कारण बिरुवा नबिकेको स्थानीय कृषक दुर्गादत्त सुवेदीको भनाइ छ । वडासदस्य समेत रहनुभएका उहाँका अनुसार फगाममा उत्पादन भएका मध्ये करिब एक लाख सुन्तलाका बिरुवा बिक्री भएका छैनन् । केही वर्षअघिसम्म सुन्तलाको बिरुवाको माग अत्याधिक थियो ।रासस