गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमा पदबहाली गर्नुभएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मङ्गलबार साँझ तीन मन्त्री थप गरी मन्त्रिपरिषद्लाई पूर्णतादिनुभएको थियो । यसअघि नियुक्त मन्त्रीहरुको कार्यविभाजन तोकिएपछि आज बिहान मन्त्रीहरुले पदभार ग्रहण गर्नुभएको हो । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान, आर्थिक मामिलामन्त्री सीता कुमारी सुन्दास, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली र आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा मगरले बिहान पदबहाली गर्नुभएको हो । यसैगरी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ र कृषि तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङले भने मंगलबार साँझ नै पदबहाली गर्नुभएको थियो । पदभार ग्रहण गर्दै भौतिक पूर्वाधार विकासमन्त्री चुमानले प्रदेश सरकारको गौरवका आयोजनाका रुपमा रहेको तनहुँको बन्दीपुर र देवघाट गाउँपालिकाको सिमाना सेती नदीमा बन्ने एक सय १५ मिटर लामो पक्की पुल निर्माणका लागि संक्षिप्त वातावरणीय प्रभावको अध्ययन प्रतिवेदन स्वीकृतिका लागि पेस भएको टिप्पणी सदर गर्नुभयो ।रासस