विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ । “यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायबाट लेखी आएकाले कालोसूचीमा राख्न नपर्ने आधार वा प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र स्पष्टीकरण पेस गर्नु भनी निजहरुको ठेगानामा सूचना पठाइएको थियो । तर हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकाले थप सात दिनको समय दिइएको छ”, खरिद अनुगमन कार्यालयले प्रकाशित गरेको सूचनामा भनिएको छ । लिखित स्पष्टीकरण पेस नगरेमा वा चित्तबुझ्दो जवाफ नआएमा ती कम्पनीलाई कालोसूचीमा राखिने पनि कार्यालयले जनाएको छ । खरिद अनुगमन कार्यालयले सुशील कार्की मुख्य सञ्चालक रहेको सिरुवा कन्ट्रक्सन कम्पनी लिमिटेडलाई लिखित जवाफ पेस गर्न भनेको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयको काम अलपत्र पारेपछि यो कम्पनीलाई स्पष्टीकरण पेस गर्न भनिएको हो ।रासस