सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको एक महिना पुगेको छ । कोभिड महामारी, विश्वव्यापीरूपमा देखा परेको आर्थिकमन्दी र त्यसको नेपालमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पारिरहेको परिप्रेक्ष्यमा प्रधानमन्त्री प्रचण्डले देशको नेतृत्व गरिरहनुभएको छ । त्यसलाई स्वयम् प्रधानमन्त्रीले चुनौतीपूर्ण अवसरका रूपमा संश्लेषण गर्दै आउनुभएको छ । गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामप्रति सिङ्गो देश सशङ्कित थियो । त्रिकुंश चरित्रको संसद््, राजनीतिक दर्शन र विधारधारामा अनेकता, संसद्मा नयाँ दलहरूको उपस्थितिलगायत विषयलाई कतिपयले संसद्् पूर्णकाल अगाडि बढ्दैन कि भन्ने ढङ्गले विश्लेषण गरेका थिए । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले चुनौतीभित्र अवसर देख्नुभयो, जोखिमपूर्ण राजनीतिक परिस्थितिको नेतृत्व गर्ने वातावरण निर्माण गर्नुभयो र सरकारको नेतृत्व गर्नुभयो । आजको दिनसम्म आइपुग्दा संसद् पूर्णकाल जाँदैन कि भन्ने आशङ्का निवारण भएको छ । लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा एवं प्रभावकारी कार्यान्वयन र राजनीतिक स्थिरताका निम्ति यो महत्वपूर्ण सन्देश हो ।रासस