आज माघ १० गते । आजभन्दा दुईसय ६० वर्षअघि आजकै दिन बङ्गाली नवाव मीर कासिमको फौजलाई पराजित गर्दै नेपालमा एउटा ठूलो उत्सव मनाइएको थियो । त्यसदिनको सम्झनामा केही वर्षदेखि हरेक माघ १० लाई विजयोत्सव मनाउँदै आइएको छ । गोर्खाका तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोट कब्जा गरेपछि एउटा स्वतन्त्र राज्यको रुपमा मकवानपुर कब्जा गरेका थिए । इतिहासकारका अनुसार नेपाल एकीकरणको सुरुआतको रुपमा मानिने मकवानपुर कब्जाको घटना १८१९ भदौ ९ गतेको हो । बहिनीज्वाइँ पृथ्वीनारायणले आफ्नो राज्य खोसेपछि मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेनले बङ्गालसँग सैन्य सहयोग मागेका थिए । मकवानपुरबाट भागेका राजा दिग्वन्धन सेनले वाग्मती नदीको किनारी भागमा पर्ने खँुडाघाट पुगेर मकवानपुरबाट गोरखाली सैनिकलाई लखेट्ने योजना बनाए । उनले मीर कासिमसँग सहयोग मागी देवान कनकसिंह बानियाँलाई पत्र पठाए । मकवानपुरलाई सहयोग गर्दा आफूलाई प्रसस्त फाइदा हुने देखेका नवावले सहयोग गर्ने बताए ।रासस