बाँकेको राप्ती सोनारी गाउँपालिकाले एक वडा एक प्रसूतिगृह निर्माण गर्ने नीति कार्यान्वयन सुरु गरेको छ । प्रसूतिगृह नभएका वडामा भवन निर्माण सुरु गरिएको गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताउनुभयो । उहाँका अनुसार, प्रसूति गृह नभएको राप्ती सोनारी गाउँपालिका–६ मा भवन निर्माण सुरु गरिएको छ । वडा नं ६ फत्तेपुरको कमैयाँडाँडामा प्रसूति गृह निर्माण सुरु भएको छ । वडामा प्रसूति गृह नहुँदा सुत्केरी हुने महिलालाई वडा नं ७ स्थित फत्तेपुर स्वाथ्य चौकीमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले प्रसूतिगृह निर्माणका लागि रू २५ लाख बजेट विनियोजन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो । राप्ती सोनारी –६ कमैयाँडाँडास्थित आधारभूत स्वाथ्य केन्द्र नजिकै तीन कोठे प्रसूतिगृह निर्माण सुरु भएको राप्ती सोनारी गाउँपालिका–६ नं वडाध्यक्ष लवराज खरेलले बताउनुभयो । वडामा प्रसूतिगृह निर्माणपछि सुत्केरी हुन टाढा जानुपर्ने बाध्यता अन्त्य हुने उहाँले बताउनुभयो । आधारभूत स्वाथ्य केन्द्रमा गर्भवती जाँच भए पनि प्रसूतिगृह नहुँदा सुत्केरी हुन फत्तेपुर स्वाथ्यचौकी जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । राप्ती सोनारी गाउँपलिका जनसङ्ख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो ।रासस